सरकारसँग प्राविधिक नहुँदा श्री एयरलाइन्सले जहाज ल्याउन पाएन

काठमाडाैं – उडान विस्तार गर्न श्री एयरलाइन्सले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा निवेदन दिएको पाँच महिनाभन्दा बढी भयो । हाल बम्बार्डिएर सिआरजे सिरिजका जेटबाट आन्तरिक उडान गरिरहेको श्रीले बम्बार्डियरकै टर्वोपप क्यू ४०० जहाज ल्याउने भन्दै मन्त्रालयमा निवेदन दिएको थियो ।

तर हालसम्म पनि श्रीले उक्त जहाज किन्ने अनुमति पाएको छैन । मन्त्रालयले जहाज थप गर्न अनुमति दिनको लागि नागरिक उड्डय प्राधिकरणमा रायका लागि पत्र पठाएको छ तर त्यहाँबाट राय नआउँदा श्रीको बारेमा निर्णय हुननसकेको मन्त्रालयका अधिकारीहरुको भनाइ छ । श्रीले हाल जेट विमानबाट उडान गरिरहेको र टर्वोपप थप गर्दा त्यसको नियमन गर्न सिमित जनशक्ती भएको प्राधिकरणलाई कठिन हुने भन्दै आनाकानी गरेको स्रोतको दावी छ । स्रोतका अनुसार प्राधिकरणले श्रीलाई कि जेट र नभए टर्वोपप ल्याउने भए एटिआर ल्याउन सुझाव पनि दिएको थियो ।

तर बम्बार्डियर चलाएको श्रीले त्यही कम्पनीको टर्वोपप ल्याउने योजना बनाएको छ । जहाजको निरीक्षण, परीक्षण तथा सुरक्षा जाँचको लागि सिमित जनशक्ती भएको भन्दै प्राधिकरणले नयाँ जहाज थप्न त्यति उपयुक्त नहुने प्राधिकरणले सुझाव दिएको थियो । नेपालमै पहिलोपटक आउन लागेको जहाजको लागि छुट्टै जनशक्ती तालिम दिनुपर्ने झनझट हुने प्रतिक्रिया पाएपछि श्रीले तालिम तथा प्रशिक्षणको व्यवस्था आफै गरिदिनेसम्मको प्रस्ताव गरेको थियो । प्राधिकरणले भने नयाँ जहाज भएकोले त्यसको सुचना तथा प्राविधिक जानकारी लिन समय लागेको र अबको केही समयभित्रै राय पठाउने बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार