असारमा बजेट सक्ने चटारो, १९ दिनमै सकियो २० अर्ब !

काठमाडौं – असार महिनाको झण्डै ३ हप्तामा २० अर्ब रुपैयाँ बराबर पूँजीगत खर्च भएको छ । चालू आर्थिक वर्ष २०७४/०७५ का लागि विनियोजित पूँजीगत बजेटमध्ये असार १९ गतेसम्म ५ दशमलव ९५ प्रतिशत बजेट खर्च भएको हो ।

चालू आर्थिक वर्षका लागि सरकारले विनियोजन गरेको कूल पूँजीगत बजेट ३ खर्ब ३५ अर्ब १७ करोड ५९ लाख ७० हजार रुपैयाँ थियो । यसमध्ये चालू आर्थिक वर्षको हालसम्म ५४ दशमलव २६ प्रतिशत बजेट निकासा भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । महालेखा नियन्त्रकको कार्यालयको असार १९ गतेको तथ्याङ्क अनुसार ५४ दशमलव २६ प्रतिशत पूँजीगत बजेट निकासा भएको छ । जेठ मसान्तको तथ्याङ्क अनुसार कूल पँजीगत खर्चको ४८ दशमलव ३२ प्रतिशत खर्च भएको थियो ।

असारको १९ दिनमा मात्रै कूल पूँजीगत बजेटकोे ५ दशमलव ९५ प्रतिशत रकम निकासा भएको देखिन्छ । असारको १९ दिनमा मात्रै कूल पूँजीगत बजेटको १९ अर्ब ९४ करोड २९ लाख ७० हजार रुपैयाँ खर्च भएको देखिन्छ । काम सम्पन्न भइसकेको अवस्थामा पनि कतिपयले भुक्तानी पाउन नसकेको हुँदा खर्च बढी नै भएपनि तथ्याङ्कमा कम देखिएको अर्थ मन्त्रालयका प्रवक्ता झक्कप्रसाद आचार्य बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार