जताततै बाढीको त्रास, सर्तक रहन आग्रह

काठमाडाैं – देशभर मनसुन सक्रिय भएकाले तीन दिनसम्म पानी परिरहने अनुमान गरिएको छ । नेपालमा आइतबारदेखि मनसुन सक्रिय हुँदा अविरल वर्षा भइरहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालतर्फ सरेकाले अझै तीन दिन (बिहिबार)सम्म वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकी मौसमविद् मञ्जु बासीले मनसुन सक्रिय हुँदा देशैभर वर्षा भइरहेको बताइन् । वर्षा देशैभर गराउन सक्ने बादल बनिरहेकोले केही दिन झरी लम्बिन सक्ने उनले जानकारी दिइन् । देशको पश्चिमी र मध्य क्षेत्रमा भारी वर्षा हुनसक्ने उनले बताइन् ।

‘देशैभर वर्षा भइरहेको छ। कतै हल्का त केही स्थानमा भारी वर्षा भएको छ। दुई/तीन दिन अझै वर्षा भइराख्ने पूर्वानुमान छ’ उनले भनिन् । वर्षाले तराईका ठाउँ डुबानमा पर्न सक्ने र पहाडी भेगमा पहिरोको जोखिम बढाएको छ

सर्तक रहन आग्रह

देशका अधिकांश भागमा भारी वर्षा भइरहेको छ । वर्षातका कारण बाढीपहिरोको जोखिम बढेको छ ।  मौसम विभागले  पूर्वदेखि पश्चिमका विभिन्न नदीमा पानीको बहाव बढ्ने खतरा अनुमान गरी सर्तक रहन आग्रह गरेको छ ।

विभागले झापा, मोरङ, सुनसरी, सप्तरी, उदयपुर, सिराह, सर्लाही, धनुषा, महोत्तरी, रौतहट, नवलपरासी, कपिलबस्तु, रुपन्देही, दाङ, बाँके, बदिर्या कैलाली जिल्लावासीलाई सतर्क रहन  आग्रह गरेको हाे । यी जिल्लाबाट बहने प्राय सबै चुरेबाट बहने साना नदीहरूमा एक्कासी बाढी आउन सक्ने भएकाले सतर्क रहन विभागले आग्रह गरेको छ । मौसम विभागका अनुसार अाज कन्त्काई, कोसी, कमला, बागमती, नारायणी, पश्चिम राप्ती, बबई, कर्णाली र महाकाली सबैमुख्य नदीहरुमा बहाब बढ्दो क्रममा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार