डा केसीलाई सुरक्षित स्थानमा नलगिए चिकित्सक संघले आन्दोलन गर्ने

जुम्ला – नेपाल चिकित्सक संघ कर्णाली शाखाले तीन दिनदेखि आमरण अनसनरत डा गोविन्द केसीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गरेको छ । संघले आज विज्ञप्ति जारी गर्दै डा केसीलाई तत्कालै सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गरेको हो ।

‘यथासिघ्र सुरक्षित स्थानमा स्थानान्तरण गरिएन भने हामी चिकित्सकहरु क्डाभन्दा कडा आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्न बाध्य हुनेछौं,’ संघको विज्ञप्तिमा भनिएको छ । अनसनका कारण डा केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको र प्रशासनले अस्पतालमा जान समेत अवरोध गरेपछि संघले डा केसीको उपचारको माग गरेको हो ।

संघले डा केसीलाई कबर्ड हलमा कैदी सरहको अवस्थामा राखेको भन्दै विरोध गरेको छ । अनसनका लागि जुम्ला पुगेका डा केसीलाई शनिबार प्रहरीले हिरासतमा लिएको घटनाप्रति संघले आपत्ती जनाएको छ । पटक पटकको अनसनका कारण डा केसीको अवस्था यसपटक अनसनको दोस्रो दिनमा नै जटिल बनेको बताइएको छ ।डा केसीको अवस्था जटिल बनेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले अस्पताल सार्नुपर्ने भन्दै जुम्लास्थित जिल्ला प्रशासन कार्यालयका प्रमुखलाई जानकारी गराएका थिए । लगातारको अनसन र चिसो तथा फोहोर कोठामा अनसन बस्दा डा केसीलाई आइसियुमा लैजानु पर्ने अवस्था आइसकेको भन्दै चिकित्सकहरुले प्रमुख जिल्ला अधिकारी विष्णु पौडेललाई जानकारी गराएका थिए । चिकित्सकको टोलीले डा केसीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराएपछि प्रमुख जिल्ला अधिकारीले गृह मन्त्रालयमा डा केसीको अवस्था र आइसियुमा लैजानु पर्ने विषयमा अवगत गराएका थिए ।

तर, गृहमन्त्री रामबहादुर थापाले प्रधानमन्त्री कार्यालयबाट डा केसीलाई अस्पताल नलैजान र यथास्थानमा नै राख्ने कुरा भएको भन्दै अस्पताल नलैजान निर्देशन दिएको स्रोतले जानकारी दिएको छ । गृहमन्त्रीबाट नै उपचारमा नलैजान भन्ने आदेश आएपछि जुम्ला प्रशासनले डा केसीलाई शनिबारबाट अनसन गरिरहेको स्थान कवर्डहलमा नै राख्न भनेको छ । प्रतिष्ठानका चिकित्सकले भने अध्याँरो र फोहोरी कोठामा राख्दा डा केसीको स्वास्थ्यमा जतिबेला पनि संक्रमण फैलनसक्ने बताइरहेका छन् । तर, प्रशासनले माथिको आदेश नआएसम्म पठाउन नमिल्ने भन्दै अवरोध सिर्जना गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार