अवैध सुनको कारोबार: भारतीय ठेकेदारको संलग्नता खुल्यो

काठमाडौं – सुन तस्करीमा संलग्न केही ठूला तस्कर तथा सहयोग गर्ने प्रहरीलाई नै पक्राउ गरेर अनुसन्धान भइरहँदा पनि तस्करी भने रोकिएको छैन । प्रहरीले पछिल्लो एक महिनामा तीन पटक तस्करीको सुन बरामद गरेको छ । जसले अझै नेपालबाट भारततर्फ ठूलो मात्रामा सुन तस्करी भइरहेको प्रस्ट भएको छ ।

हिजोमात्रै प्रहरीले नागढुंगामा ३ किलो सुनसहित ५ जनालाई पक्राउ गरेको थियो । भारतीय नागरिकहरु अशोकलाल शाह, चन्द्रमोहन जोशी, दीपककुमार मोर्रे र नेपालीहरु सम्झना शाह र मनोज विक पक्राउ परेका हुन् । महानगरीय प्रहरी प्रभाग नागढुंगाले भारतीय नम्बर प्लेट (यूके ०२३६८४ नम्बर)को मारुती कारलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा सुन बरामद भएको हो । कारको एयरफिल्टरमा लुकाएर भारततर्फ सुन तस्करी गर्न लागिएको थियो । कारका चालक भारतीय नागरिक मुर्रे र नेपाली युवक मनोज विकलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुमाथि अनुसन्धान गर्ने क्रममा थप तीन जना पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेलले बताउनुभयो । अशोकलाल र चन्द्रमोहन पछिल्लो ३ महिनामा ४ पटक काठमाडौं आएको खुलेको छ । यसअघि पनि उनीहरु सुन तस्करीकै लागि काठमाडौं आउने गरेको प्रहरीको आशंका छ । यी तीन घटनाले नेपालबाट ठूलो मात्रामा सुन तस्करी भइरहेको संकेत मिलेको प्रहरी अधिकारीहरुले बताएका छन् । तर, बरामद सुन नेपालमा कसरी तस्करी भएको थियो भन्ने खुल्न सकेको छैन ।

पछिल्लो समय विमानस्थलको सुरक्षामा कडाइ गरिएसँगै रसुवा नाका हुँदै चीनबाट सुन तस्करी हुने गरेको आशंका गरिएको छ । एक किलो सुनमा ५ लाख रुपैयाँसम्म नाफा हुने र हुन्डीको कारोबार गर्न पनि सजिलो हुने भएकाले नेपालबाट भारतमा सुन तस्करी हुने गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार