अर्घाखाँचीको वडा कार्यालयमा अज्ञात समूहद्वारा आगजनी

काठमाडौं – गएराती अर्घाखाँचीस्थित शितगंगा नगरपालिका वडा नं. ९ लामिदमारमा रहेको वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरी क्षति पुर्‍याएको छ । करिब राती ११ः४५ बजे अज्ञात समूहले आगजनी गरेको वडा सदस्य खुम बहादुर लुईंचेले जानकारी दिनुभयो ।

स्थानीयका अनुसार तीन जनाको समूह आएर वडा कार्यालयमा आगजनी गरेका हुन् । आगजनीबाट कार्यालयका फर्निचर तथा महत्त्वपूर्ण कागजात जलेर नष्ट भएको कार्यालय सहयोगी सन्देश घर्तीले जानकारी दिनुभयो । कार्यालयको ढोकाको ताला फोरेर गरिएको आगजनीबाट कार्यालयको प्रशासन कोठाको साथै नजिकै रहेको स्वास्थ्य इकाईमा समेत क्षति पुगेको स्वास्थ्य इकाईका इन्चार्ज ओमलाल वलीले जानकारी दिनुभयो ।

घटनास्थलमा ईलाका प्रहरी कार्यालय ठाडा र सिद्धारा प्रहरी चौकीबाट प्रहरी टोली पुगेर घटनाको मुचुल्का गर्ने काम भैरहेको बताइएको छ । घटनाको कुनै समूहले अहिलेसम्म जिम्मा लिएको छैन । घटनाबारे प्रारम्भिक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार