अध्यादेशको मर्मविपरीत चिकित्सा शिक्षा विधेयक संसद्मा दर्ता, नियम निलम्बन गरेर आजै पारित गर्ने तयारी

काठमाडौं – यसअघि भएका सहमति लत्याउँदै सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसद्मा दर्ता गरेको छ ।

दुईपटक अध्यादेशमार्फत ल्याइएका कतिपय विषय हटाउँदै अध्यादेशको समय सकिनै लागेका बेला सरकारले त्यसमा रहेका विशेष प्रावधान हटाएर संसद्मा दर्ता गरेको हो । शुक्रबार दर्ता गरिएको विधेयक आजै फाष्ट ट्रयाकबाट पारित गर्ने तयारी गरिएको छ ।

“नियम निलम्बन गरेर आजै पारित गर्ने तयारी गरिएको छ,” संसद् सचिवालय स्रोतले भन्यो, “अध्यादेशको समय २० गते सकिँदैछ । त्यसअघि राष्ट्रपतिबाट प्रमाणिकरण पनि भइसक्नुपर्नेछ । त्यसका लागि आजै राष्ट्रिय सभाबाट पारित गरिनेछ । प्रतिनिधिसभाबाट पनि आजै या भोलिसम्म पारित गर्ने तयारी छ ।”

यसअघि जारी गरिएको अध्यादेशमा काठमाडौं, ललितपुर, भक्तपुर जिल्लामा दश वर्षसम्म कुनै पनि शिक्षण संस्थालाई सम्बन्धन दिने या चिकित्सा शिक्षासम्बन्धी कुनै संस्था वा प्रतिष्ठान स्थापना गरिने छैन’ भनिएको भए पनि अहिले विधेयक आउँदा उक्त प्रावधान नै खारेज गरिएको छ ।

यसले गर्दा डा. गोविन्द केसीले वर्षौंदेखि राख्दै आएका माग समाप्त गरिँदैछ । उता डा. गोविन्द केसीले यसअघि भएका सम्झौता कार्यान्वयनको माग गर्दै शनिबारदेखि जुम्लामा १५ औं सत्याग्रह सुरु गरेका छन् ।

चिकित्सा शिक्षा सुधारका लागि १५ औं पटक अनसन बस्न जुम्ला पुगेका वरिष्ठ चिकित्सक डा. केसीलाई प्रहरीले पटक पटक धरपकड गरेको थियो । प्रहरीले पक्राउ गरेर राखेका केसीलाई जिल्ला खेलकुद कार्यालयको कभर्ड हलमा ल्याएर छाडिदिएपछि उनी शनिबार रातिदेखि त्यहिँ अनसन बसेका छन् ।

प्रहरी हिरासतभित्रै केसीले अनसन थालेपछि प्रहरीले कभर्ड हलमा ल्याएर छाडिदिएको हो । डा. केसीले जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमै अनसन बस्ने तयारी गरेका थिए तर स्थानीय प्रशासनले उक्त क्षेत्रलाई निषेधित क्षेत्र तोकेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार