निगमको वाइड बडी विमान भोलि आइपुग्दै, यी हुनेछन् गन्तव्य

काठमाडौं – नेपाल वायु सेवा निगमको वाइड बडी विमान बिहीबार (भोलि) आइपुग्ने भएको छ । बिहान साढे ८ बजे विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका रहेको निगमले जनाएको छ ।

अन्तिम किस्ता पठाइसकेकाले भोलि बिहान विमान नेपाल आउँने निगमका सह-प्रवक्ता शैलेस कंशाकारले बताउनु भयो । उहाँका अनुसार निगमले अमेरिकी कम्पनी एएआरलाई दोस्रो किस्ता बापतको रकम पठाएको हो । यसअघि निगमले पहिलो किस्ताबापत ८ अर्ब रुपैयाँ पठाएको थियो । एएआरले वाइड बडी विमान १० करोड ४८ लाख अमेरिकी डलरका दरले निगमलाई उपलब्ध गराउने सम्झौता गरेको थियो ।

वाइड बडी विमान खरिदका लागि निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट १२-१२ अर्ब रुपैयाँ रकम लिएको थियो । निगमले खरिद गर्ने दुई थान वाइड बडी विमान खरिदका लागि सरकारले २५ अर्ब रुपैयाँमा जमानी बस्ने निर्णय गरेपछि निगमले सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएको हो ।

यी हुनेछन् नयाँ विमानका गन्तव्य
यो वाइड बडी नेपालको आफ्नै सबैभन्दा ठुलो जहाज हुनेछ । पहिलो वाइड बडी ल्याएको एक महिनापछि अर्को वाइड बडी पनि काठमाडौँ आइपुग्ने भएको हो । भोलि काठमाडौँमा अवतरण भएको एक महिनापछि यो जहाजले दुबईमा पहिलो व्यवसायिक उडान थाल्नेछ ।

युरोपेली विमान निर्माता कम्पनी एयरबसमा उत्पादित २७४ सिट क्षमतायुक्त ‘ए३३०-२००’ सिरिजको विमानलाई नेपाल नागरिक उड्ययन प्र्राधिकरणले ‘९एन–एएलवाई’ कलसाइन दिएको छ । निगमले उक्त विमानलाई ‘अन्नपूर्ण’ नामाकरण गरेको छ ।

‘विमान आएको दुईदेखि तीन हप्तासम्ममा हामी नागरिक उड्ययन प्राधिकरणबाट लिनुपर्ने आवश्यक इजाजत लिइसक्छौं, र उडान सुरु गर्छौं,’ निगमका सह-प्रवक्ता कंसाकारले भन्नुभयो, ‘उक्त विमानले दुवई, हङकङ, दोहा, क्वालालाम्पुरलगायतका गन्तव्यमा सिधा उडान भर्नेछ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार