नेपाल विद्यार्थी संघद्वारा शिक्षामन्त्री पोखरेलको राजीनामा माग

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले शिक्षा मन्त्री गिरीराजमणि पोखरेलको राजीनामा माग गरेको छ । नेविसंघले अाज विज्ञप्ति जारी गरेर एसईई परीक्षाको नतिजा प्रकाशनमा अनियमितता गरेको भन्दै शिक्षामन्त्री पोखरेलको राजीनामा माग गरेको हो ।

नेविसंघले नतिजा प्रकाशनमा भएको अनियमितताको छानविनका लागि स्वतन्त्र छानविन आयोग गठन गरेर एसईई बोर्ड अध्यक्ष लगायतका पदाधिकारीमाथि कारवाही गर्नुपर्ने पनि माग अघि सारेको छ । ‘पछिल्लो पटक एसईई परीक्षाको नतिजा प्रकाशनमा सरकारले चरम लापरवाही मात्र होइन कि विद्यार्थीमाथि जघन्य अपराध गरेको छ । ४७ सयभन्दा बढी विद्यार्थीको एसईई नतिजा प्रकाशनमा बिहान कम र बेलुका बढी प्राप्ताङ्क देखिनुले वर्तमान कम्युनिष्ट सरकार शैक्षिक माफियाको आर्थिक चलखेलको प्रभावमा परेको सहजै अनुमान लगाउन सकिन्छ,’ अध्यक्ष नैनसिंह महरद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।

सरकारको गैरजिम्मेवार कार्यले परीक्षामा सहभागी चार लाख ८५ हजार ५८६ जना विद्यार्थी, उनीहरुका अभिभावक, शिक्षक र विद्यालय सञ्चालकहरुको मनोविज्ञानमा नराम्रो असर परेको नेविसंघको ठहर छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को झुठो नारा लिएर गठन भएको कम्युनिष्ट सरकार सामाजिक जनजीवन खल्बल्याउन तर्फ उद्धत रहेको आरोप लगाउँदै नेविसंघले राष्ट्रियता कमजोर पार्ने, प्रेसमाथि अंकुश लगाउने, सरकार-गैरसरकारी संघ-स्थामाथि नियन्त्रण र कम्युनिष्टइतर विचार राख्ने वर्ग, समुदाय र व्यक्तिलाई त्रसित पर्ने कार्यमा निर्लज्ज भएर अगाडि बढेको दावी गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार