संसद्मा डिला संग्रौलाको प्रश्न- बृद्ध भत्ता पाउने उमेर किन बढाइयो?

काठमाडौं – नेपाली काँग्रेस सांसद डा. डिला संग्रौलाले जेष्ठ नागरिक भत्ता पाउन उमेर बढाएकोप्रति आपत्ति जनाउनु भएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा धारणा राख्दै सांसद संग्रौलाले जेष्ठ नागरिक भत्ता पाउँने उमेर ६५ बाट बढाएर ७० पुर्याएकोप्रति आपत्ति जनाउनु भएको हो ।

‘नेपाली कांग्रेस नेतृत्वको सरकारले बृद्ध भत्ता पाउँने उमेर ६५ वर्ष तोकेको थियो, तर वर्तमान सरकारले बढाएर ७० वर्ष तोकेको छ ।’ उहाँले भन्नुभयो- ‘हरेक जेष्ठहरुको आयु ६९ वर्षको हुन्छ यो भत्ता डुब्न आटेको जुनलाई दिन खोजेको छ भन्ने अनुभूति भएको छ, त्यसैले म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’ महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्तर्गत विनियोजित बजेटमाथिको धारणामा उहाँले अपाङ्गता भएका, अनाथ असाहय तथा सडक बालकालिको संरक्षणका लागि विशेष कार्यक्रम ल्याउनु पर्नेमा जोड् दिनुभयो । उहाँले यस्ता बालबालिको संरक्षणका लागि बजेटमै विशेष कार्यक्रम ल्याउन पनि उहाँले माग गर्नुभयो ।

सांसद संग्रौलाले महिला हिंसा न्यूनिकरण, चेलिबेटी बेचविखन तथा बलात्कारका घटनाको रोकथाम र न्यूनिकरणका लागि कडा कानुन ल्याउन आवश्यक रहेको बताउनुभयो । अहिले पनि नाबालिकादेखि बृद्धाहरुसमेत बलात्कारको सिकार हुन बाधय भएको भन्दै त्यसको न्यूनिकरणका लागि दोषिलाई कडा कारबाहीका साथै महिला सशक्ति करणका कार्यक्रम ल्याईनु पर्नेमा जोड् दिनुभयो ।

उहाँले महिलाहरु बेचिने क्रम नरोकिएको उल्लेख गर्दै बेचविखनमा संलग्नलाई निरुत्साहित पार्न सरकारले पहल गर्न आवश्यक रहेको बताउनु भयो । तराइका विभिन्न क्षेत्रका साथै प्रदेश नम्बर ७ मा अझै पनि छाउपडी प्रथा कायम रहेको भन्दै सांसद संग्रौलाले ती क्षेत्रहरुको जनचेनाका ठोस कार्यक्रम संचालन गर्न पनि आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार