फौजदारी अभियोग लागेका सांसद स्वतः निलम्बन हुनुपर्छ: राप्रपा

काठमाडौं – आपराधिक गतिविधिमा संलग्न सांसदको पद निलम्बन नहुनेगरी गर्न लागिएको कानुनी व्यवस्थाप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आपत्ति प्रकट गरेको छ । राप्रपाले आज प्रेस विज्ञप्ति जारी गर्दै यो प्रावधानले सुशासनको मान्यता कमजोर हुने तथा राजनीतिमा आपराधिक प्रवृत्तिलाई प्रोत्साहित गर्ने औंल्याएको छ ।

साथै, राप्रपाले राजनीतिक दल र सांसदहरुलाई फौजदारी अभियोग लागेमा सांसद पद स्वतः निलम्बन हुने यसअघिकै कानुनी व्यवस्था कायम राख्न आग्रह समेत गरेको छ । संसदको नियमावलीमा तीन वर्ष वा सोभन्दा बढी कैद हुनसक्ने फौजदारी मुद्दा लागेका सांसदहरूलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको अवस्थामा समेत निलम्बन नहुने व्यवस्था राखिएको छ ।

प्रतिनिधिसभा संसद् नियमावली मस्यौदा समितिको शनिबार सिंहदरबारमा बसेको बैठकले यस्तो सहमति गरेको थियो । सो नियमावली आज संसदको बजेट अधिवेशनका क्रममा पेश हुने कार्यतालिकामा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार