वैशाख ९ मा पार्टी एकता नहुने लगभग पक्का

काठमाडौं – नेकपा एमाले र माओवादी केन्द्रबिच वैशाख ९ गते घोषणा हुने भनिएको पार्टी एकता पछि सर्ने देखिएको छ । मिल्न बाँकी विषयमाथिको छलफलले सघन रुप निलिएका कारण निर्धारित मिति वैशाख ९ मा पार्टी एकता घोषणा हुने सम्भावना लगभग सकिएको हो ।

सोमबार एमाले अध्यक्ष तथा प्रधानमन्त्री र माओवादीको अध्यक्ष पुष्पकमल दाहालबीच भएको छलफलपछि आज बसेको एकता संयोजन समितिको बैठकमा छलफल भए पनि त्यसले पूर्णता पाउन सकेन । बैठकमा पार्टी एकताका लागि मस्यौदा बनाउन बनाइएको दुवै पार्टीका कार्यदलले अध्यक्षलाई प्रतिवेदन बुझाएको र त्यो प्रतिवेदनमाथि दुई अध्यक्ष ओली र दाहालले अध्ययन गरेर छलफल गर्नु पर्ने भएकाले एकता प्रक्रिया लम्बिने देखिएको बैठकमा सहभागी नेताले बताएका हुन् ।

यस्तै प्रधानमन्त्री ओलीको भारत भ्रमण र त्यसपछि विभिन्न कार्यक्रमको व्यस्तता तथा प्रचण्डको पनि व्यस्तताका कारण छलफलमा ढिलाइ हुँदा पनि तोकिएको वैशाख ९ मा एकताको औपचारिक घोषणा नहुने देखिएको हो । आज प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा बसेको एकता संयोजन समितिको बैठकमा मिल्न बाँकी विषयमा छलफल भएको र अन्तिम टुङ्गो लगाउने जिम्मा दुर्इ अध्यक्षलार्इ जिम्मेवारी दिएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

एकताको हलो अड्किएको मानिएको पार्टीको आधिकारिक दस्तावेजमा जनयुद्ध शब्द राख्ने वा नराख्ने चुनाव चिह्न र केन्द्रीय समिति र पार्टीका अरु निकायमा दुई पार्टीको अनुपातबारे आजको एकता संयोजन समितिको बैठकमा छलफल भएको बुझिएको छ । बैठकमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित एमालेका नेताहरु माधवकुमार नेपाल, वामदेव गौतम र ईश्वर पोखरेल तथा माओवादीका नेताहरु नारायणकाजी श्रेष्ठ प्रकाश र रामबहादुर थापा बादल सहभागी हुनुहुन्थ्यो । आजै दुवै पार्टीमा आन्तरिक छलफल हुने र शीर्ष नेताबिच पनि छलफल हुने सम्भावना छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार