एकता संयाेजन समितिको बैठक बालुवाटारमा सुरु

काठमाडौँ-पार्टी एकताका विवादित विषय टुंग्याउन पार्टी एकता संयोजन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित संयोजन समितिको बैठक सुरु भएको हो ।

प्रधानमन्त्रीको भारत भ्रमणअगावै एकता प्रक्रियालाई निष्कर्षमा पुर्याउने बताइए पनि एकता संयोजन समितिले कार्यदलले बुझाएको प्रतिवेदन र दिएका सुझाव ग्रहणमात्रै गरेको थियो । १२ दिनपछि बस्न लागेको बैठकले एकता प्रक्रियामा सुल्झन बाँकी विषय टुंग्याउने तयारी भइरहेको एमाले नेता सुवास नेम्वाङले जानकारी दिए ।

९ गते नै एकता गरौँ 
एमाले संसदीय दलका उपनेतासमेत रहेका नेम्वाङले ९ गते कुनै हालतमा एकता टार्न नहुने निष्कर्षमा एमाले पुगेको छ । मिल्न सकिने विषयमा हदैसम्म लचिलो हुने विवादित विषय महाधिवेशनको फोरममा लैजान माओवादी केन्द्रलाई सहमत गराएर एकताको कोर्ष पूरा गर्नुपर्ने एमाले नेताहरूको जोड छ ।

जनयुद्धको विषयलाई त्यति ठूलो प्रतिष्ठाको विषय बनाउन नहुने र समयक्रमले नै त्यो ठीक वा बेठिक थियो भन्ने ठाउँमा पु¥याउने एमालेका केही नेताले सुझाव दिएका छन् । जनयुद्ध शब्दलाई विधानको प्रस्तावनामा समेटेपछि सूर्य चुनाव चिह्न राख्न माओवादी केन्द्र तयार हुने एमाले नेताको बुझाइ छ  ।

एकतालाई लेनदेनको विषय नबनाऔँ
पार्टी एकता समयको आवश्यता र राजनीति स्थायीत्वको कडी भएकाले यसलाई लेनदेनको विषय बनाउन नहुने एमाले नेताहरूले बताएका छन् । मिलाउन सकिने विषलाई एकता संयोजन समितिले टुंग्याउने र मुल्तवीमा रहेका विषयलाई महाधिवेशनको फोरममा छलफल गर्नुपर्ने उनीहरूको निष्कर्ष छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार