प्रदेश ५ को बजेट छलफलः खल्तीका योजनादेखि संघीयता खारेजीसम्मको चर्चा

बुटवल – प्रदेशसभा ५ को बैठकमा सरकारले ल्याएको बजेटमाथि छलफल सुरु भएको छ । आजको बैठकको सुरुमा कांग्रेस सांसद अष्ठभूजा पाठकले विचार राख्दै प्रदेश ५ को पहिलो बजेटमा किसानका कुरा कम परेको बताउनुभयो । ‘सरकारले निकै साँघुरो बजेट ल्याएको छ, धेरै क्षेत्र छुटेका छन् यसलाई र फराकिलो बनाउनुपर्नेछ’ उहाँले भने ।

त्यस्तै अर्का सांसद कृष्णध्वज खड्काले बजेट कार्यान्वयनमा सबै जुट्नुपर्ने बताउनुभयो । उहाँले बजेटमा खल्तीका योजना पार्ने प्रचलनलाई बन्द गर्नुपर्ने बताउनुभयो । ‘योजना बदल्ने र गोजाबाट योजना आउने कामलाई कडाई गरौं’ खड्काले भन्नुभयो ।

सांसद तारा जिसीले प्रस्तुत बजेटले आफुहरुलाई कुहिरोमा अलमलिएको काग जस्तै बनाएको टिप्पणी गर्नुभयो । हामीलाई बजेटले हास्य पात्र बनायो, केन्द्रकै मुख ताक्नपर्ने भए किन संघीयताको अभ्यास गरेको, संघीयतामा प्रदेशलाई बजेट अभाव भएको छ, यस्तै भए हाम्रो पार्टीले भनेजस्तै गरी ढिलोचाँडो संघीयता खारेज हुनेछ’ ताराले भन्नुभयो ।

सांसद दीर्घनारायण पाण्डे बजेटले धेरै कुरा समेट्न नसेकेको बताउनुभयो । ‘सरकारले हतारमा बजेट ल्याउदाको परिणाम यस्तो भएको हो’ उहाँले भने । प्रदेशसभामा धारणा राख्नका लागि एक जना सांसदलाई ५ मिनेटको समय दिइएको छ । प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रीको समेत कार्यभार सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले १ अर्ब २ करोड ५ लाख रुपैयाँको बजेट पेश गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार