उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्विरोध

काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुनः दोस्रो कार्यकालका लागि निर्विरोध हुनुभएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित कसैले पनि उम्मेदवारी नदिएपछि बहालवाला उपराष्ट्रपति पुन निर्विरोध निर्वाचित हुनुभएको हो । तर, निर्विरोध निर्वाचित भएको भोलि मात्र घोषणा हुनेछ ।

दावी विरोध लगायतका प्रक्रिया पुरा भएपछि मात्र निर्विरोध भएको घोषणा हुने उपराष्ट्रपतिको निर्वाचन कार्यालयले जनाएको छ ।  पराष्ट्रपतिका लागि आज दिउँसो २ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता गर्ने समय थियो । उम्मेदवारीको दावी विरोधमा उजुरी दिने समय भोलि दिउँसो २ बजेसम्म भएकोले पुन निर्वाचित भएको घोषणा भने अहिले नै निर्वाचन आयोगले गर्ने छैन ।

उम्मेदवारले नाम फिर्ता लिने समय आइतबार साढे ५ बजे सकिएपछि बल्ल निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन २०७४ को दफा २३ बमोजिम आइतबार ६ बजे अन्तिम नामावली प्रकाशन गर्नेछ । ऐनको दफा २४ मा एक जना मात्र उम्मेदवार कायम हुन आएमा निर्वाचन अधिकृतले त्यस्तो उम्मेदवार निर्विरोध निर्वाचित भएको भनी घोषणा गर्ने प्रावधान छ ।पुनुले आज अपरान्ह ११ः४० बजे आफै नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भई उपराष्ट्रपतिका लागि उम्मेदवारीको मनोनयन दर्ता गाउनुभएको थियो । पुनका प्रस्तावकहरुमा सुवासचन्द्र नेम्वाङ, पम्फा भुषाल, भानुभक्त ढकाल, रेखा शर्मा र परशुराम मेघि गुरुङ रहनुभएको छ भने समर्थकहरुमा देवप्रसाद गुरुङ, ओनसरी घर्ती, जयपुरी घर्तीमगर, रामनारायण विडारी र राजेन्द्रप्रसाद गौतम हुनुहुन्छ ।

राष्ट्रपतिमा वाम गठबन्धनले विद्यादेवी भण्डारीलाई दोहोर्‍याएपछि उपराष्ट्रपतिमा पनि पुनलाई नै दोहोर्‍याउन लागेको हो । यता राष्ट्रपतिका लागि कुमारी लक्ष्मी राईलाई उम्मेदवार बनाएको कांग्रेसले उपराष्ट्रपतिमा उम्मेदवार नदिएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडेल बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार