एफबीआइएका पूर्वउपनिर्देशक बर्खास्त

काठमाडौं – अमेरिकी संघीय अनुसन्धान निकाय एफबीआइका पूर्वउपनिर्देशक एन्ड्रयु मकेबलाई अवकाश पाउनुभन्दा दुई दिनअघि पदबाट बर्खास्त गरिएको छ । महान्यायाधिवक्ता जेफ सेसनले उनलाई बर्खास्त गर्ने निर्णय गरेका हुन् ।

त्यसको अर्थ मकेबले निवृत्तीभरणसम्बन्धी केही अधिकारहरू गुमाउनेछन् । उनी हिलरी क्लिन्टनको इमेल प्रयोग प्रकरण र सन् २०१६ को राष्ट्रपतीय चुनावमा रुसले गरेको भनिएको आरोपसम्बन्धी छानबिनमा संलग्न थिए । राष्ट्पति ट्रम्पले विगतमा निरन्तर मकेबको आलोचना गर्ने गरेका थिए । उनलाई बर्खास्त गर्ने निर्णयलाई समर्थन गर्दै राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा मकेब एफबीआइभित्र उच्च तहमा भएका भ्रष्टाचार र ठगीबारे जानकार भएको उल्लेख गरेका छन् ।

पछिल्लो निर्णयलाई ट्रम्पले सही भन्दै त्यो मेहनती एफबीआइका कर्मचारीका लागि खुशीको दिन भएको जनाएका छन् । एउटा वक्तव्यमा मकेबले आफूले निर्वाह गरेका भूमिका र एफबीआइका तत्कालीन निर्देशक जेम्स कोमीलाई बर्खास्त गरिएपछिका घटनाहरूबारे थाहा पाएकाले आफूलाई एक्ल्याइएको बताएका छन् । मकेबले हिलरी क्लिन्टनको इमेल प्रयोग प्रकरणसम्बन्धी अनुसन्धानसम्बन्धी सूचना एकजना पत्रकारलाई उपलब्ध गराउन आदेश दिएका थिए ।

तर एफबीआइकै व्यावसायिक जिम्मेवारी हेर्ने एउटा निकायले उनले उक्त ‘बिफ्रिङ्ग’ बारे पूर्ण रूपमा सही निर्णय नलिएको निष्कर्ष निकालेको थियो ।मकेबले त्यसलाई अस्वीकार गर्दै आएका छन् । मकेबले उपनिर्देशकको पदबाट ज्यानुअरीमा राजीनामा दिएका थिए र उनी त्यसयता बिदामा बसेका थिए । सोमबार ५० औँ जन्मदिन मनाउन लागेका उनले त्यहीँ दिन नै औपचारिक रुपमा अवकाश पाउन लागेका थिए । तर बरखासीका कारण २० वर्षभन्दा सेवा गरेपछि उनले पाउने भनिएको पूर्ण निवृत्तीभरण भने प्रभावित हुनेछ । –बीबीसी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार