मन्त्रिपरिषद् विस्तारको तयारीमा ओली, मधेसवादी दललाई समेट्न मन्त्रालयको संख्या थपिने

काठमाडौं – सरकार गठन भएको झन्डै एक महिनापछि शुक्रबार मन्त्रिपरिषद विस्तार हुँदैछ । एमाले, माओवादी, संघीय समाजवादी फोरम र राजपासमेतलाई समेटेर सरकारलाई पूर्णता दिने तयारीमा प्रधानमन्त्री केपी शर्मा ओली लाग्नुभएको हो  ।

संघीय समाजवादी फोरम सरकारमा सहभागी हुने लगभग निश्चित भएपनि राष्ट्रिय जनता पार्टीसँग भने छलफल जारी रहेको मन्त्री लालबाबु पण्डितले बताउनुभयो । एमाले–माओवादीले यस अगाडि भागबन्डा गरेको मन्त्रालय संख्यामा दुबैका एक–एकवटा घटाएर फोरमको व्यवस्थापन गर्ने तयारी भएको छ ।

त्यसो हुँदा एमालेलाई प्रधानमन्त्रीसहित १०, माओवादीलाई ६ र फोरमलाई २ मन्त्रालय भाग आउनेछ । त्यस्तै राजपा सरकारमा आए उसले पनि दुई मन्त्रालय पाउनेछ । मन्त्रालयको संख्या र कुन मन्त्रालय कुन पार्टीलाई भन्ने विषयमा टुंगो भने लागि नसकेको मन्त्री पण्डितको भनाई छ ।

आवश्यक परे मधेशवादी दललाई सरकारमा सहभागी गराउन मन्त्रालयको संख्या पनि थप गर्ने तयारी भैरहेको छ । देशको विषम परिस्थिति र सबैलाई समेट्नु पर्ने भएकाले २ देखि ३ वटा मन्त्रालय थप हुन सक्ने मन्त्री पण्डितले बताउनुभयो । संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्री कार्यालय सहित २५ मन्त्रालय गठन गर्न सक्नेछ ।

तर ओली सरकारले संघीय प्रशासनिक भार बढ्ने भएको भन्दै मन्त्रालयको संख्या घटाएर १७ वटा मन्त्रालय कायम गरेको थियो । अब मधेशवादी दललाई पनि समेट्न पर्ने भएकाले मन्त्रालयको संख्या २० देखि २१ सम्म कायम गर्ने तयारी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार