मेयर चौधरीलाई गोली हानेको आरोपमा पक्राउ परेका आरोपित सार्वजनिक

धनगढी– कैलालीको घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममताप्रसाद चौधरीमाथि गोली प्रहार भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेका चार जनालाई आज सार्वजनिक गरिएको छ।

मंगलबार पक्राउ चार जनालाई जिल्ला प्रहरी कार्यालय धनगढीले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो। उनीहरु विरुद्ध ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गरिएको छ। यसैबीच यसै घटनामा संलग्नताको आरोपमा थप एक जनालाई बिहीबार पक्राउ गरिएको छ।

प्रहरीले मंगलबार राष्ट्रिय युवा जनस्वयंसेवक संगठनका अध्यक्ष कमल क्षेत्री (पवित्र), घोडाघोडी नगर सेक्रेटरी भरत शाह, टीकापुर नगर सेक्रेटरी हृदय बोगटी र धनगढी युवा नगर इञ्चार्ज पूर्णप्रसाद खनाललाई पक्राउ गरेको थियो। बिहीबार धनगढी उपमहानगरपालिका–१, नैनादेवी चौकबाट विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ता सागर देउवा (विक्रान्त)लाई पक्राउ गरेको हो।

विप्लव नेतृत्वको माओवादीकै थप आठ जनाको खोजी गरिरहेको कैलाली प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए। घिमिरेका अनुसार, सो घटनामा विप्लवका कमाण्डरदेखि इञ्चार्ज र सेक्रेटरीहरुको पनि संलग्नता छ।

प्रहरीले विप्लवले २७ गते जारी गरेको विज्ञप्ति, पटक–पटक नगर प्रमुख चौधरीलाई फोनमा धम्की दिएको लगायतका विषयलाई आधार बनाएर शंकास्पद व्यक्तिहरुलाई पक्राउ गरिरहेको छ। एक साताअघि घोडाघोडीमै राधा चौधरीमाथि ‘बोक्सी’को आरोपमा झाँक्री रामबहादुर चौधरीले कुटपिट गर्दा मेयर ममताप्रसाद चौधरी रमिते बनेको र प्रहरीले पक्राउ गरेका दोषीलाई छुटाउन पहल गरेको आरोप लागेको थियो।

सोमबार साँझ घरमै बसिरहेका बेला मेयर चौधरीमाथि आक्रमण भएको थियो। उनको कम्मरमुनि गोली लागेको र टाउकोमा खुकुरी प्रहार भएको थियो। अवस्था गम्भीर देखिएपछि मंगलबार काठमाडौं ल्याइएका उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार