विमान दुर्घटना : श्रीमतीले ज्यान गुमाइन्, श्रीमानलाई थप उपचारका लागि सिंगापुर लगियो

काठमाडौं– सोमबार भएको बंगलादेशी विमान दुर्घटनामा घाइते भएका एक बंगलादेशी नागरिकलाई एयर एम्बुलेन्सबाट सिंगापुर लगिएको छ।

डा रिजवानुअल हक साओनलाई बुधबार थप उपचारका लागि सिंगापुर लगिएको बंगलादेशका अधिकारीले पृष्टि गरेका छन्। उनको उपचार ओम अस्पतालमा भइरहेको थियो।

गत सोमबार बंगलादेशको ढाकाबाट ७१ जना यात्रु बोकेर आएको युएस–बाङ्ला विमान त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनामा २८ बंगलादेशी र २२ नेपालीसहित ५१ जनाको मृत्यु भएको थियो।

घाइते डा रिजवानुअलको उपचारमा लाग्ने सम्पूर्ण खर्च युएस–बाङ्लाले बेहोर्ने भएको छ। बंगलादेशको रंगपुर मेडिकल कलेजका सहायक रजिस्टारमा कार्यरत उनलाई सिंगापुर जनरल अस्पतालमा भर्ना गरिएको पुष्टि बंगलादेशी अखबारले पनि गरेका छन्।

बंगलादेशी अखबार ढाका ड्रिब्युनले रिजवानुअलका पिता मोजामुअलको भनाइ उद्धृत गर्दै लेखेको छ, ‘उसको अवस्था गम्भीर छ। उसको ४० प्रतिशत शरीर जलेको छ। अनुहार, पाखुरा र हिप सबै जलेका छन्।’

डा रिजवानुअल श्रीमती ताहिरा सासीसँग विवाहको छैटौं वर्षगाँठ मनाउन नेपाल आउँदै थिए। दुर्घटनामा ताहिराको भने ज्यान गुमाइन्। नेपाल उड्नुअघि उनले आफ्नो फेसबुकमा एउटा पोस्ट राख्दै विवाहको उत्सव मनाउन नेपाल जान लागेको लेखेकी थिइन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार