विश्वकप छनोटमा नेपाल र पिएनजी भिड्दै, दुवैको लक्ष्य एकदिवसीय मान्यता

नेपाल भर्सेस पपुवा न्युगिनी
स्थान : पुरानो हरारियन स्पोर्ट्स क्लब, हरारे, जिम्बावे
प्रतिस्पर्धा : एकदिवसीय विश्वकप छनोट, प्लेअफ
मिति : चैत १ गते बिहीबार, दिउँसो १:१५ बजे

काठमाडौं– आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत प्लेअफको खेलमा आज दिउँस नेपाल र पपुवा न्युगिनी (पिएनजी) बीच प्रतिस्पर्धा हुँदैछ। जिम्बावेको हरारेस्थित हरारियन स्पोर्ट्स क्लबमा हुने खेलमा जित हात पार्ने टिम एकदिवसीय मान्यता नजिक पुग्नेछ।

४ वर्षका लागि प्राप्त हुने एकदिवसीय मान्यताले टिमको एक्सपोजर बढ्ने र आइसिसीबाट प्राप्त हुने अनुदान पनि बृद्धि हुने भएकाले प्लेअफको खेललाई महत्वपूर्ण मानिएको छ। खेलमा हार्ने टिम डिभिजन–२ मा झर्नेछ।

सुपर ६ पुग्न असफल भएको नेपालका लागि एकदिवसीय मान्यताको सुनौलो अवसर छ। त्यसका लागि नेपालले पपुवा न्युगिनीलाई पराजित गर्नुपर्ने हुन्छ।

एकदिवसीय मान्यताका लागि नेपालको ठूलो चुनौती ब्याटिङमा देखिएको छ। यो प्रतिस्पर्धामा बलिङमा औषत प्रदर्शन गरेको नेपालका प्रमुख ब्याट्सम्यान चल्नुपर्ने देखिन्छ। कप्तान पारस खड्का बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले जारी प्रतियोगितामा अर्धशतक प्रहार गर्न सकेका छैनन्। यद्यपी नेपालले हङकङलाई पराजित गर्दा रोहितकुमार पौडेलले नटआउट ४८ रन बनाएका थिए।

नेपालले पिएनजी विरुद्ध नयाँ मैदानमा प्रतिस्पर्धा गर्नेछ। मैदानको ‌पहिलो इनिङको औसत स्कोर ३ सयको हाराहारीमा छ। त्यसैले जितका लागि ३ सय रन कटाउनेगरी खेल्नु जरुरी देखिन्छ। प्रतियोगिताको पहिलो खेलमा नेपालले जिम्बावे विरुद्ध २ सय ६४ रन बनाएको थियो। त्यसपछिका ३ खेलमा नेपालले २ सय रन कटाउन सकेको छैन। पहिले ब्याटिङ गर्दा नेपालले स्कटल्यान्ड विरुद्ध १ सय ४९ र अफगानिस्तान विरुद्ध १ सय ९४ रन बनाएको थियो।

पिएनजीले समूह चरणमा चारै खेल हारे पनि ब्याटिङमा भने राम्रो प्रदर्शन गरेको थियो। टोनी उराले आयरल्यान्ड विरुद्ध शतक प्रहार गरेका थिए। युएई विरुद्धको पहिलो खेलमा १ सय १३ रनमा अलआउट भए पनि पिएनजीले आयरल्यान्ड विरुद्ध २ सय ३५ रन बनाएको थियो। पिएनजीले वेस्ट इन्डिज विरुद्ध पनि २ सय रन बनायो। नेदरल्यान्ड्स विरुद्धको अन्तिम खेलमा भने पिएनजी १ सय ५९ रनमा अलआउट भयो।

पुरानो हरारियन स्पोर्ट्स मैदानको तथ्यांक

पहिलो इनिङको औषत स्कोर : २९० रन
दोस्रो इनिङको औषत स्कोर : १९६ रन
मैदानको उच्च स्कोर : ३५७/४
मैदानको कम स्कोर : ९१/१०
उच्च लक्ष्य पार : २०१ रन

टिम नेपाल

पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शक्तिप्रसाद गौचन, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, करण केसी, आरिफ शेख, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, दिलीप नाथ, ललित भण्डारी, अनिलकुमार साह, रोहितकुमार पौडेल र ललितनारायण राजवंशी।

टिम पपुवा न्युगिनी 

असद भाला (कप्तान), चार्ल्स अमिनी, सेसे बाउ, माहुरु दाइ, किप्लिन डोरिगा, जासोन किला, भानी मोइरा, अलेइ नाओ, दामेइन राभु, जोन रिभा, लेगा सिएका, चाड सोपर, टोनी उरा, नोर्मान भनुवा, ज्याक भारे।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार