उपराष्ट्रपति चुन्न चैत्र ९ गते मतदान, यस्तो छ निर्वाचन तालिका

काठमाडौं – निर्वाचन आयोगले उपराष्ट्रपतिको निर्वाचन चैत्र ९ गतेका लागि तोकेको छ। आयोगको बुधबार प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षता बसेको बैठकले राष्ट्रपति निर्वाचनको मिति तय गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४ को दफा ५ ९२० मा राष्ट्रपतिको निर्वाचन भई परिणाम घोषणा भएको सात दिनभित्र आयोगले निर्वाचनको मिति तोक्ने व्यवस्था रहेको छ । यसै गरी नेपालको संविधानको धारा ७० एवं राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४ को दफा १६ को उपदफा ५ बमोजिम उपराष्ट्रपति पदको लागि उम्मेदवार मनोनयन गर्दा राष्ट्रपति पदमा निर्वाचित व्यक्ति जुन लिङ्ग वा समुदायको हो सोभन्दा फरक लिङ्ग वा समुदायको व्यक्तिलाई मनोनयन गर्नुपर्ने व्यवस्था छ ।

हिजो सम्पन्न राष्ट्रपति निर्वाचनबाट नेपालको राष्ट्रपतिमा खस आर्य समुदाय तथा महिलाबाट विद्यादेवी भण्डारी निर्वाचित भइसक्नुभएको छ । संविधान अनुसार अब बन्ने उपराष्ट्रपतिका लागि फरक समुदाय र पुरुषले मात्रै उम्मेदवारी दर्ता गर्न पाइने आयोगले जानकारी दिएको छ । आयोगले उपराष्ट्रपति निर्वाचनको कार्यतालिका पनि प्रकाशित गरेको छ ।

जसअनुसार चैत्र १ गते मतदाता नामावली प्रकाशन, चैत्र ३ गते उम्मेदवारी दर्ता तथा चैत्र ४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।  चैत्र ९ गते शुक्रबार बिहान १० बजे देखि अपरान्ह ३ बजेसम्म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा मतदान हुने आयोगले जानकारी दिएको छ । निर्वाचन आयोगले उपर्राष्ट्रपतिको निर्वाचनका लागि तयारी पनि सुरु भइसकेको जानकारी दिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार