खानेपानीको चरम समस्या भएपछि कुवामा ताल्चा !

बैतडी – खानेपानीको चरम समस्याबाट पीडित बैतडी पाटन नगरपालिका– ५ कनेडामाका बासिन्दाले कुवामा ताल्चा लगाएर खानेपानीको जोहो गर्न थालेका छन् ।

गाउँमा रहेको कुवामा पानी सुक्दै गएपछि कुवामा ताल्चा लगाएर खानेपानीको जोहो गर्न थालिएको स्थानीयवासी द्रोपती ठगुन्नाले बताउनुभयो  । उहाँले भन्नुभयो, “कुवामा भएको पानी कसैले अनावश्यक रुपमा प्रयोग गर्न नपाओस् भनेर ताल्चा लगाउने गरेको हो” गाउँमा भएको कुवामा पानी सुक्दै गएपछि सरसफाइ र गाईभैँसीका लागि भने खोलाबाट पानी बोक्नुपर्ने बाध्यता रहेको स्थानीयवासी वसन्ती ठगुन्नाले बताउनुभयो ।

पानीको अभावमा शौचालयको प्रयोग गर्न नसकिएको तथा गाईभैंसीलाई पानी खुवाउन र सरसफाइका लागि खोला जानुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । गाउँमा खानेपानी नहुँदा पानीका लागि भौतारिनुपर्ने अवस्था रहेको स्थानीयवासी हरिसिंह ठगुन्नाले बताउनुभयो । गाउँमा दुईवटा कुवा रहेका र दुबैमा पानी सुक्दै गएपछि स्थानीयवासीले ताल्चा लगाएर खानेपानी संरक्षण गर्ने गरेको पाटन नगरपालिका–५ का प्राविधिक सहायक वीरसिंह ठगुन्नाले बताउनुभयो ।

‘ पानीको स्रोतको पहिचान गरी गाउँमा खानेपानी पुर्याउनका लागि पहल गर्न वडा कार्यालयले रु पाँच लाख बजेट विनियोजन गरिसकेको समेत उहाँले बताउनुभयो । हिउँद शुरु भएसँगै जिल्लाका विभिन्न स्थानमा खानेपानीको समस्या हुन थालेको छ । गाउँमा भएका कुवा तथा इनार सुक्दै गएपछि खानेपानीको अभाव हुन थालेको स्थानीयवासीले बताएका छन् । जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको तथ्यांकअनुसार ८० प्रतिशत नागरिकको खानेपानीमा पहुँच छ । तर अधिकांश बस्तीमा हिउँद शुरु भएसँगै खानेपानीको समस्या देखिन थालेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार