विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ । उहाँले कांग्रेस उम्मेदवार कुमारी लक्ष्मी राईलाई पराजित गर्नुभयो । राष्ट्रपति चयनका लागि आज निर्वाचन भएको थियो ।

भण्डारीले ३९ हजार २७५ मतभार पाउँदा राईले ११ हजार ७३० मतभार पाउनुभयो । मतदानमा १८ जना अनुपस्थित रहेका निर्वाचन कार्यालयले जानकारी दिएको छ । संघीय संसद्का तीन र प्रदेशका पाँच मत बदर भएको थियो । भण्डारीलाई २४५ संघीय सासद र ४१५ प्रदेशसभा सदस्यले मत दिएका थिए । राईलाई भने ७८ संघीय सांसद र ११६ प्रदेशसभा सदस्यले मत दिएका छन् ।

संघीय संसदका सदस्यको मतभार ७९ र प्रदेशसभाका सदस्यको मतभार ४८ कायम गरिएको थियो । भण्डारीलाई एमाले, माओवादी केन्द्र र मधेश केन्द्रीत दलको समर्थन रहेको थियो ।  नयाँ शक्ति नेपाल र विवेकशील साझा पार्टी भने चुनावमा सहभागी भएनन् ।

सपथ भोलि ४ बजे
नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार पद तथा गोपनीयताको सपथ लिने भएकी छन् । सपथको समय बुधबार दिउँसो ४ बजेका लागि तोकिएको छ । राष्ट्रपतिलाई प्रधानन्यायाधीशले सपथ गराउने प्रचलन छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार