राष्ट्रियसभा अध्यक्षमा गणेश तिमिल्सिनाको उम्मेदवारी दर्ता

काठमाडौं – राष्ट्रियसभाको अध्यक्षमा नेकपा एमालेबाट गणेश तिमिल्सिनाले उम्मेदवारी दर्ता गराउनुभएको छ । संघीय संसद् भवन पुगेर सोमबार तिमिल्सिनाले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

वाम गठबन्धनको सहमति अनुसार राष्ट्रियसभाको अध्यक्ष पद एमालेको भागमा परेको थियो । सोही सहमति अनुसार तिमिल्सिना राष्ट्रियसभा अध्यक्ष बन्ने पक्का देखिएको छ। एमाले उम्मेदवारलाई माओवादी लगायतका दलहरुको समर्थन रहनेछ ।

को हुन् तिमिल्सेना ?
एमालेबाट पर्वतको जिल्ला सभापति भइसकेका तिमिल्सिना एमाले प्रदेश नम्बर ४ का सहसंयोजक हुनुहुन्छ । एमाले नेता तिमिल्सेना प्रदेश ४ बाट राष्ट्रिय सभाको सदस्यमा निर्वाचित हुनुभएको हो । पार्टीमा लामो समय काम गरेकाले राष्ट्रिय सभाको अध्यक्ष पाउनुपर्ने तिमिल्सेनाले दाबी गर्दै आउनुभएको थियो ।

उहाँ पहिलोपटक राष्ट्रिय सभामा सांसद हुनुभएको हो । तिमिल्सेना संसदीय अभ्यासमा नयाँ हुनुहुन्छ । अध्यक्षको निर्वाचन बुधबार हुनेछ । नेपाली कांग्रेसले भने उम्मेदवारी नदिने निर्णय गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार