सार्क राष्ट्रका उद्योगीको छैटौँ व्यापार नेतृत्व सम्मेलन काठमाडौंमा

काठमाडौं – दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) राष्ट्रका उद्योगी व्यवसायीको छैटौँ व्यापार नेतृत्व सम्मेलन (विजनेश लिडर्स कनक्लेभ) काठमाडौँ हुने भएको छ । सार्क चेम्बर अफ कमर्शको आयोजनामा आगामी चैत २, ३ र ४ गते उक्त सम्मेलन हुन लागेको हो ।

यसअघि पाकिस्तानमा आयोजना गर्ने तयारी गरिएको सम्मेलन पाकिस्तानमा नहुने भएपछि नेपालमा आयोजना गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा सार्क उद्योग वाणिज्य संघका अध्यक्ष सुरज वैद्यले जानकारी दिनुभयो । उहाँले सार्क क्षेत्रका सर्वसाधारण र व्यावसायीले सार्कको सर्वोच्च संस्थारुपमा रहेको सार्क चेम्बरबाट धेरै आशा गरे तापनि राजनीतिक किचलोका कारण अपेक्षीकृत लाभ लिन नसकिएको बताउनुभयो ।

सार्क क्षेत्रको साझा समृद्धि, सार्क देशमा व्यापार र लगानी प्रवद्र्धन, आर्थिक र राजनीतिक संकट, विश्व अर्थव्यवस्थामा सार्कको भूमिका, ऊर्जा र सहकारी क्षेत्रमा सार्कमा भएको सफलता र आगामी कार्यदिशालगायत विषयमा छलफल गरिनेछ । सम्मेलनमा ५० जना प्रतिष्ठित वक्ताले सहभागिता सुनिश्चित भएको आयोजकले जनाएको छ । त्यस्तै सार्क राष्ट्रका प्रतिनिधि, निजी क्षेत्र, प्राज्ञिक व्यक्तित्व तथा सञ्चार माध्यम गरी करिब २०० जनाको सहभागिता रहने बताइएको छ । यसअघि सन् २०११ मा पनि यस किसिमको सम्मेलन नेपालमा गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार