प्रधानमन्त्रीका पक्षमा मतदान गर्न एमाले र माओवादी केन्द्रको ह्वीप

काठमाडौं – नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त संसदीय दलले प्रधानमन्त्रीको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ । संसदीय दलको आज संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको संयुक्त बैठकले दुवै दलका सबै संसद्लाई अनिवार्य उपस्थित भएर प्रधानमन्त्रीको पक्षमा मतदान गर्न निर्देशन दिएको हो ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने कार्यक्रम छ । उहाँ यही फागुन ३ गते प्रधानमन्त्रीमा चयन हुनुभएको थियो । संविधानानुसार प्रधानमन्त्रीमा चयन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । संयुक्त संसदीय दलको बैठकलाई सम्बोधन गर्दै नेकपा(एमाले) संसदीय दलका नेता ओलीले संवैधानिक व्यवस्थानुसार विश्वासको मत प्रदान गर्न ह्वीप जारी गर्नुभयो ।

उहाँले भन्नुभयो, “सबै प्रतिनिधिसभा सदस्यलाई प्रस्तावको पक्षमा मत दिन ह्वीप जारी गर्दछु ।” अध्यक्ष ओलीले दुवै दलले देशलाई सुशासन र आर्थिक समृद्धिको बाटामा अगाडि बढाउने प्रण गरेअनुसार संसद् र सरकार अगाडि बढाउनुपर्ने भएकाले सोही मर्मलाई ध्यान दिन आग्रह गर्नुभयो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनिवार्य रुपमा प्रधानमन्त्रीका पक्षमा मत दिन आफ्नो पार्टीका प्रतिनिधिसभा सदस्यलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “जनताको भरोसा र विश्वासलाई व्यावहारिक रुप दिन सबैले प्रधानमन्त्रीलाई विश्वासको मत दिनुहोला ।” उहाँले सरकार र संसद्को काम दुवै पार्टीले कदममा कदम मिलाएर अगाडि बढ्नुपर्ने अवस्था भएकाले ध्यान दिन प्रतिनिधिसभा सदस्यलाई आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार