नुतनकी नातिनी हिन्दी फिल्म प्रवेशको तयारीमा

मुम्बई (एजेन्सी)– बलिउडकी चर्चित पूर्व अभिनेत्री नुतनकी नातिनी प्रनुतन पनि फिल्मी संसारमा प्रवेश गर्ने तयारीमा छिन्।

 नुतनकी नातिनी तथा मोहनिस बहलकी छोरी प्रनुतनको उमेर २४ वर्ष छ। मोहनिस बहल पनि भारतीय सिनेमाका चर्चित अभिनेता हुन्। ५७ वर्षीय बहल लामो समयदेखि हिन्दी सिनेमामा देखा परेका छैनन्।

बलिउडमा प्रवेश गर्न लागेकी प्रनुतनको यसअघि कुनै चर्चा थिएन। बहलका दुई छोरी छन्, प्रनुतन र कृष्णा। यी दुवै चर्चाबाट टाढा रहनुको कारण उनीहरूको विषयमा कमै मात्र जानकारी बाहिर आउने गरेको थियो।

नुतन भारतीय रजतपटकी चर्चित अभिनेत्री हुन्। १९५२ मा मिस इन्डियाको उपाधि जितेकी नुतन १६ वर्षको उमेरमा फिल्मी क्षेत्रमा प्रवेश गरिसकेकी थिइन्। उनले २३ वर्षको उमेरमै लेफ्टिनेन्ट कमाण्डर रजनीश बहलसँग विवाह गरेकी थिइन्। यो जोडीले विवाहको दुई वर्षपछि मोहनिस बहललाई जन्म दिएका थिए।

मोहनिस बहल आमाको पदचापमा हिँडेका थिए। हिन्दी फिल्ममा ‘बडे भईया’ को उपमा पाएका बहल ५७ वर्षमा प्रवेश गरिसकेका छन्। उनले ‘मैने प्यार किया (१९८९), ‘हम आपके हे कौन (१९९४)’, ‘हम साथ–साथ हे (१९९९) जस्ता सुपरहिट फिल्ममा काम गरेका थिए।

उनले १९९२ मा अभिनेत्री एकता सोहिनीसँग विवाह गरेका थिए। उनकी कान्छी छोरी कृष्णाको उमेर ८ वर्ष छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार