नुवाकोटमा दुर्घटनामा परी २ को मृत्यु

विदुर- नुवाकोटमा आज भएका छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु भएको छ।

त्रिशुलीबाट काठमाडौं जाँदै गरेको बा५ख ७९८ नम्बरको बसले ठक्कर दिँदा विदुर नगरपालिका–३ का ईश्वरीलाल श्रेष्ठको मृत्यु भएको हो। बट्टारबजारस्थित सडक छेउमा हिँडिरहेको समयमा बसको ठक्करबाट ७५ वर्षीय श्रेष्ठ गम्भीर घाइते भएकामा उपचारका क्रममा नुवाकोट सिटी अस्पतालमा उनको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए। श्रेष्ठलाई ठक्कर दिने बसका चालक विदुर–१२ का सबिन भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यसैगरी, आजै बिहान देवीघाटबाट गल्छी गइरहेको बा७०प ४४२७ नम्बरको मोटरसाइकललाई मिनीट्रकको ठक्कर दिँदा मोटरसाइकलका चालक विदुर–९, कोलनीका तिलकबहादुर मिजारको मृत्यु भएको छ। ४७ वर्षीय मिजारलाई गल्छीबाट देवीघाट आउँदै गरेको बा३ख ६६६७ नम्बरको मिनीट्रकले रातमाटेमा ठक्कर दिएको थियो। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने गाडी र चालक प्रहरी नियन्त्रणमा छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार