फास्ट ट्रयाकले हरायो खोकना र बुङ्मतीका बासिन्दाको निद्रा

काठमाडौं – केही समयअघिसम्म ललितपुर महानगरपालिकाका बासिन्दा नायचा महर्जन आफ्नै जग्गाछेउबाट फास्ट ट्रयाक जानेमा खुसी थिए। तर जब सेनाले खन्न लागेको फास्ट ट्रयाकमा आफ्नो जग्गा पर्ने भयो, तब उनको निद्रासमेत हराएको छ।

जग्गाको भाउ सुनजस्तै महँगिँदै जाँदा उनले भने आफ्नो झण्डै ६ रोपनी जग्गा कौडीको भाउमा दिनुपर्ने भएपछि उनको खुसी र निद्रा दुवै हराएको हो। महानगरपालिकाको वडा नम्बर २१ स्थित खोकनाका नायचाले ६ रोपनी  जग्गा फास्ट ट्रयाक रुटमा परेको जानकारी दिँदै त्यसबापत अत्यन्तै न्यून कम मात्र पाएको बताए।

‘जलविनायक मन्दिर अघिल्तिरको यो जग्गा खेतीका लागि असाध्यै राम्रो हो’, उनले भने, ‘यसै पनि आम्दानीको बाटो थियो। अझ फास्ट ट्रयाक बनेपछि जग्गाको भाउ बढ्ने भयो भनेर दंग थिएँ तर यत्रो जग्गा बाटोले खायो।

मुआब्जा पाइयो अत्यन्तै कम दरले।’ उनका अनुसार उक्त क्षेत्रमा जग्गाको भाउ प्रतिआना झण्डै दश लाखसम्म छ तर सेनाले डेढ लाखका दरले मुआब्जा दिने बताएको छ। नायचाको मात्र होइन बुङ्मतीका इन्द्र तुलाधरको पनि १२ आना दुई पैसा जग्गा सोही सडकमा परेको छ। उनकी आमाको एक रोपनी पनि फास्ट ट्रयाकमै परेको छ।

बुङमती सरोकार सेवाका सचिवसमेत रहेका तुलाधरका अनुसार सरकारले प्रतिरोपनी ३४ लाख तोकेको जग्गा प्रतिआना ६ लाखमा बिक्रीमा भइरहेको छ।  ‘मानामुरी फल्ने ठाउँमा आनाको दुई लाख दिन्छु भन्नु साह्रै अन्याय हो।

सडकले हजारौंलाई फाइदा पुग्ला तर हामी सयौंको समस्या कसले बुझ्ने?’ उनी भन्छन्, ‘हामी दुई वर्षदेखि गुनासो लिएर प्रधानमन्त्री, गृह, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रशासन कार्यालय सबैतिर पुगेका छौं। तर कतैबाट सुनुवाइ भएन।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार