कार्यदलले प्रतिवेदन नबुझाउन नसकेपछि पार्टी एकता लम्बियो

काठमाडौं – एमाले-माओवादी कार्यदलले आज पार्टी एकता संयोजन समितिलाई प्रतिवेदन नबुझाउने भएका छन् । पार्टी एकताका लागि प्रतिवेदन लेखनको जिम्मा पाएका कार्यदलहरुले लेखनको काम नसकिएको भन्दै नबुझाउने भएका हुन् ।

कार्यदललाई प्रतिवेदन बुझाउन आजसम्म म्याद दिइएको भए पनि काम नसकेपछि दुवै कार्यदलको समय थप गरिएको विधान र संगठनात्मक कार्यदल सदस्य वेदुराम भुसालले बताउनुभयो । उहाँका अनुसार काम सम्पन्न गरी प्रतिवेदन बुझाउन थप एक साता लाग्ने भएकाले सोहीअनुसार म्याद थपिएको छ ।

एमाले नेता माधवकुमार नेपाल नेतृत्वको वैचारिक कार्यदलले अहिलेसम्म एउटा पनि बैठक राखेको छैन । तर, माओवादी केन्द्रका नेता रामबहादुर थापाको नेतृत्वको अर्को कार्यदलको बैठक भने दुई साताको अवधिमा चारपटक बसेको छ । अब म्याद थपिएकाले चैत्र २ गतेभित्रै काम सकेपछि एकता संयोजन समितिको बैठकमा कार्यदलको प्रतिवेदनबारे छलफल हुनेछ ।

यसअघि पार्टी एकताको गृहकार्य गर्न गठित कार्यदलाई एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फागुन २५ गते पार्टी एकताको प्रतिवेदन पेश गर्ने गरि काम गर्न निर्देशन दिएका थिए । तर, एकीकृत पार्टीको विधान र संगठनात्मक कार्यदल तथा राजनीतिक कार्यदल दुवैले प्रतिवेदन तयार पार्न नसकेपछि एकता लम्बिने संकेत देखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार