कम्युनिष्टहरु राज्यलाई नै कम्युनिष्ट बनाउन दुई तिहाई खोज्दैछन्ः लेखक

काठमाडौं – प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता रमेश लेखकले कम्युनिष्ट पार्टीहरुले मुलुकमा कम्युनिष्ट शासन लाद्न दुई तिहाई बहुमतको सरकार बनाउने प्रयत्न गरिरहेको टिप्पणी गरेका छन् ।

कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा कांग्रेसको भीमदत्त नगर कार्यसमितिले बिहीबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेता लेखकले कम्युनिष्ट गठबन्धनकोे सरकार मुलुकलाई नै कम्युनिष्ट बनाउन दुई तिहाई बहुमत सरकार बनाउने प्रयत्नमा रहेको बताएका हुन् ।

‘‘कम्युनिष्टहरु राज्यलाई नै कम्युनिष्ट बनाउन दुई तिहाई सरकार बनाउन लागेका छन्,’’ उनले भने । दुई तिहाई बहुमत पुगे अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका निकायहरुमा मनोमानी ढंगबाट हस्तक्षेप गर्न पाइने भएका कारण कम्युनिष्ट नेतृत्वको सरकार दुई तिहाई पुर्याउने प्रयासरत रहेको नेता लेखकको भनाइ थियो ।

कम्युनिष्ट सरकारको संवैधानिक अंगहरुमा हुने सम्भावित हस्तक्षेप रोक्न कांग्रेसले सचेत भएर प्रतिपक्षीको भूमिका निर्वाह गर्नु पर्नेमा उनले जोड दिए । प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतलाई प्रभावमा पारेर संवैधानिक अंगमाथि हस्तक्षेप गर्न सुरु गरिसकेको नेता लेखकले आरोप लगाए ।

‘‘ओली सरकारले सिफारिश गरेका राष्ट्रियसभा सदस्यहरुलाई अदालतले सपथ नगराउनु भनेर सर्वोच्चले आदेश दिएको थियो,’’ उनले भने, ‘‘तर प्रधानमन्त्रीले सर्वोच्चलाई सरकारले गरेको निर्णयमाथि हस्तक्षेप नगर्न भने । कम्युनिष्ट सरकारले अदालतबाट संवैधानिक अंगमाथि हस्तक्षेप गर्न सुरु गरिसकेको छ ।’’ मुलुकमा तानाशाह र अधिनायकवाद लाद्न कम्युनिष्ट गठबन्धनको सरकार अग्रसर भइसकेको कांग्रेस नेता लेखकको भनाई थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार