जनताको काम छिटो-छरितो रुपमा गर्न अत्याधुनिक प्रविधिको प्रयोग गरिनेछ : प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आउने पाँच वर्ष नेपालको विकासका लागि असाधरण समय हुने बताएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको ७औं अन्तर्राष्ट्रिय व्यापार मेलाको राजधानीमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘आउने आधा दशक नेपालका लागि असाधारण हुनेछ। यो समय सफलता, परिवर्तन र उपलब्धिको समय हुनेछ।’

ओलीले सरकार निजी क्षेत्रको संरक्षणमा प्रतिबद्ध भएको विश्वास समेत दिलाए। सरकार सार्वजनिक, निजी र सहकारी मार्फत समृद्धिको यात्रामा अघि बढ्ने उनको भनाइ छ।

प्रधानमन्त्री ओलीले सरकार भ्रष्टाचारका विरुद्ध र देशको दूरदृष्टिका पक्षमा रहेको बताउँदै थपे, ‘सरकारका सम्पूर्ण प्रयास उत्पादन वृद्धि, आकर्षक रोजगारी र अवसरका लागि केन्द्रित हुनेछन्।’ जनताको काम छिटो–छरितो ढंगले गर्न अत्याधुनिक प्रविधिको प्रयोग गरिने प्रधानमन्त्री ओलीको भनाइ छ।

प्रधानमन्त्री ओलीले नेपालको आयात र निर्यात व्यापारको खाडल डरलाग्दो भएकोले त्यसलाई पुर्न निर्यातजन्य उत्पादन बढाउन प्रधानमन्त्री ओलीले सुझाव दिएका छन्।

‘हामी १०० रुपैयाँको सामान किन्दा आफूले चाहिँ ७ रुपैयाँको सामान बेच्दा रहेछौं’, उनले भने, ‘हरेक पटक हामी ९३ रुपैयाँ घाटाको व्यापार गरिरहेका छौं। यसैले निर्यात व्यापार बढाउनु जरुरी छ।’

पर्यटन व्यवसाय नेपालको अर्थतन्त्र उकास्ने एउटा महत्वपूर्ण स्रोत हुन सक्ने भन्दै प्रधानमन्त्री ओलीले यसका लागि पर्यटन मैत्री सडक र होटल हुनुपर्ने धारणा व्यक्त गरे।

संयुक्त राष्ट्र संघले सन् २०३० सम्मका लागि तयार गरेको सहस्राब्दी लक्ष्य प्राप्त गर्न नेपालले द्रुत गतिमा विकास गर्नुपर्ने, गरिबी हटाउन स्थानीय स्तरमा रोजगारीका अवसर सिर्जना गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ।

प्रधानमन्त्री ओलीले भृकुटी मण्डपमा लागेको व्यापार मेलाको निरीक्षण पनि गरेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार