कृषि उत्पादन वृद्धि गर्न माटो परीक्षण

कालिकोट – सान्नित्रिवेणी गाउँपालिकामा पहिलो पटक माटो परीक्षण शिविर सञ्चालन गरिएको छ। किसानको आवश्यकतालाई मध्यनजर गर्दै गाउँपालिकाको कृषि उत्पादनमा वृद्धि गर्न माटो परीक्षण शिविर सञ्चालन गरेको हो। जिल्लामै पहिलो पटक सञ्चालन गरिएको शिविरमा पाँच सय ६० वटा नमुना माटो परीक्षण गरिएको शान्नित्रिवेणी गाउँपालिका कृषि शाखा प्रमुख पर्शुराम काफ्लेले जानकारी दिए।

परीक्षणका लागि किसानले ल्याएका अधिकांश माटोको नमुनामा पर्याप्त खाद्यतत्व भेटिएको उनले बताए। माटो परीक्षण शिविरले किसानलाई आफ्नो खेतमा रहेको माटोको सम्भावना पहिचान गरी कृषि उत्पादन वृद्धि गर्न राहत पुग्ने गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाहीले बताए। आफ्नो खेतको माटो परीक्षणपछि कुन ठाउँमा कुन बालीको खेती गर्ने भन्ने विषयमा निश्चित हुने र विभिन्न जातको अन्नबाली, फलफूलका बिरुवा रोप्ने र तरकारीखेती गर्न किसानलाई सहज हुने उनको भनाइ छ।

माटो परीक्षण गराउन गाउँपालिका कार्यालयका नौवटै वडा तथा आसपास क्षेत्रका किसानलेसमेत मौकाको फाइदा उठाएका छन्। क्षेत्रीय माटो परीक्षण प्रयोगशाला नेपालगन्जको प्राविधिक सहयोग र सान्नित्रिवेणी गाउँपालिकाको आयोजनामा कालिकोट जिल्लामै पहिलो पटक शिविर सञ्चालन गरिएको हो। पहिलो पटक गाउँपालिकाले माटो परीक्षण शिविर सञ्चालन गरेर किसानलाई राहत पुग्ने काम गरेको स्थानीय कृषकले बताएका छन्।

स्थानीय कृषक मनराज देवकोटाले माटो परीक्षण र कृषि विज्ञको सल्लाह अनुसार खेतबारीमा काम गर्न पाउने उल्लेख गरे। माटो परीक्षण गर्न क्षेत्रीय माटो परीक्षण प्रयोगशाला नेपालगन्जका माटो विशेषज्ञ देवबहादुर केसी सहभागी भएका छन्। कुन माटोमा पर्याप्त खाद्यतत्व छ कुनमा छैन जान्नका लागि परीक्षणपछि पत्ता लागाउने गरिएको छ। नमुना चाँज गर्दा अधिकांश माटो कृषियोग्य पाइएको माटो विज्ञले बताएका छन्। माटो परीक्षण गर्दा केही सामान्य मात्रामा माटोमा पोटास र फस्फोरस देखिएको शाखा प्रमुख काफ्लेले बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार