इपिजीले नेपाल–भारतबीचमा भएका सन्धि,सीमालगायतका उपलब्धिलाई आज सार्वजनिक गर्दै

काठमाडौं – नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह इपिजी ले अहिलेसम्मका उपलब्धि सार्वजनिक गर्ने भएको छ ।
काठमाडौंमा शनिबार सुरु भएको बैठकले अहिलेसम्मका उपलब्धि सार्वजनिक गर्न दिउँसो २ बजे पत्रकार सम्मेलन गर्ने भएको हो । आइतबार सकिने बैठकले सरकारलाई बुझाउने साझा मस्यौदाको स्वरुपलाई अन्तिम रुप दिने सहमति पनि भएको इपिजिका सदस्य निलाम्बर आचार्यले जानकारी दिनुभयो ।
इपिजीले आउँदो असारमा दुवै सरकारले प्रतिवेदन बुझाउने गरी काम गर्ने तयारी गरेको उहाँले बताउनुभयो । बैठकमा सन् १९५० को शान्ति तथा मैत्री सन्धि, सीमा व्यवस्थापन र सुरक्षा, जलस्रोत, दुवै देशको हितका विषयमा विचारविमर्श भएको थियो । सन् २०१६ को जुलाईमा पहिलो बैठक बसेको इपिजीको कार्यकाल आगामी चार महिनामा सकिँदैछ ।
द्विपक्षीय सम्बन्धका साथै नेपाल र भारतबीच सन् १९५० मा भएको शान्ति तथा मैत्री सन्धि लगायत अरु सन्धि सम्झौताको नवीकरण, परिमार्जन र सुधारका लागि आवश्यक सुझाव दिन प्रबुद्ध व्यक्ति समूह गठन गर्न दुवै मुलुकका प्रधानमन्त्रीबीच सहमति भएअनुसार इपिजी गठन भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार