चोर्न जाँदा घरधनीकै हत्या : बालाजुको होटलमा बन्यो योजना, यसरी समातिए अभियुक्त

काठमाडौँ – सुनचाँदी चोरी गर्न जाँदा घरधनीकै हत्या गर्ने व्यक्ति पक्राउ परेका छन् । काठमाडौं बूढानीलकण्ठ–१ तौलुङस्थित छोरी गीता ढकालको घरमा बस्ने रसुवा उत्तरगया–५ की ५५ वर्षीया पार्वती ढकालको हत्यामा संलग्न काठमाडौं तारकेश्वर बस्ने नुवाकोट ककनी–२ का ३० वर्षीय सुदामा लामिछानेलाई प्रहरीले पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखाले कपिलबस्तुबाट पक्राउ गरी उनलाई काठमाडौं ल्याएको छ, राजधानीमा खबर छ ।

लामिछाने गत १२ साउनमा पार्वतीको टाउकोमा हथौंडा प्रहार गरी हत्या गरेपछि सुनका गरगहना लिएर फरार भएका थिए । प्रहरीले सुदामाले लुटेको गहना बनस्थली नर्सरीचोकस्थित दिपज्योति सुनचाँदी पसलमा १ लाख १५ हजार रुपैयाँमा बिक्री गरी कपिलवस्तुमा गई भारततर्फ जान भारतीय रुपैयाँसमेत सटही गरी बसेको अवस्थामा फेला पारेको हो ।

घटना अनुसन्धान क्रममा गीताको घरमा करिब एक साता काम गरी एक हजार रुपैयाँ लिएर काम छोडी हि“डेका सुदामाले विदेश जान पार्वतीसँग पैसा मागेका थिए । पैसा नभएको भनेपछि बालाजुस्थित होटलमा साथीसँगै बसेर गीताको घरमा लुटपाट गर्ने योजना बनाई त्यसदिन पार्वतीलाई हथौंडा प्रहार गरी दराजमा रहेको सुनको चुरा २ थान, बाला २ थान, औंठी २ थान, लकेटसहितको सिक्री १ थान, झुम्का १ जोर, आइप्याड १ थान र घडी १ थानसमेत लुटी बालाजु बसपार्कतर्फ गएको प्रहरीले जनाएको छ ।

गीता ढकालको ट्याब, गहना पगालेको सुन २३.४३ ग्राम र भारत जानका लागि साटेको भारतीय रुपैयाँ २९ हजारसमेत बरामद गरिएको छ । पक्राउ परेका सुदामालाई आवश्यक कानुनी कारबाहीका लागि महाशाखाले महानगरीय प्रहरी वृत्त महाराजगन्ज पठाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार