बाढीपीडितलाई दिनको ७० रुपैयाँ दिने सरकारको निर्णय

काठमाडौ – सरकारले बाढीपीडितलाई प्रतिदिन ७० रुपैयाँका दरले एक महिनासम्म खाना खर्च उपलब्ध गराउने भएको छ ।

बाढीपहिरो प्रभावित ३० जिल्लाका पीडितलाई खाद्य संकट चुलिएको निश्कर्षसहित गृहमन्त्रालयले तत्कालका लागि अभाव टर्न सो निर्णय गरेको हो ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषले हिजोमात्र गृहमन्त्रालयलाई बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार, राहत वितरण तथा क्षति ब्यवस्थापनका लागि भन्दै एक अर्ब रुपैयाँ निकासा दिने निर्णय गरेको थियो ।

बाढीपहिरोबाट १ सय २८ जनाको मृत्यु भएको, ३२ जना अझै बेपत्ता रहेको तथा हजारौं बस्ती डुवानमा पर्दा लाखौं जनता बिस्थापित भएका छन् ।

सिंहदरवारस्थित गृहमन्त्रालयमा आज पत्रकार सम्मेलन गर्दै गृहमन्त्री जनार्दन शर्माले प्रमुख जिल्ला अधिकारी (सीडीयो) मार्फत् बाढीपीडितका लागि सो रकम उपलब्ध गराईने जानकारी दिनुभयो ।

बाढीपीडितको लगत संकलनको क्रममा रहेकाले संख्या यकिन नगरी गृहले छिट्टै राहत रकम बाँड्ने मन्त्री शर्माको भनाई छ ।  यस्तै गृहमन्त्री शर्माले बाढी र डुबानले क्षति पुगेका सार्वजनिक, नीजि भौतिक संरचनाको पुनर्निर्माण तत्काल थालिने बताउनुभयो । पीडितलाई राहत दिन रकम अभाव रहेको बताउँदै गृहमन्त्री शर्माले सहायताका लागि अन्तर्राष्ट्रिय समुदायलाई अपिल गर्नुभयो ।

यद्यपी सरकारले राहत वितरणमा एकद्वार प्रणाली लागु गर्दै व्यक्ति वा संस्थालाई आफु खुशी राहत रकम वितरणमा बन्देज लगाइएको छ । मन्त्री शर्माले सरकारसँग अनुमति लिएर मात्रै राहत संकलन गर्न पाइने बताउनुभयो ।

बाढी प्रभावित क्षेत्रमा खाद्यान्न अभाव रहेकोले त्यहाँ खाद्य संस्थानमार्फत् अस्थायी डिपो खुलाउने मन्त्री शर्माले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार