‘बाढीपीडितको राहत कांग्रेस-माओवादीको कमार्इ खाने भाँडो’

काठमाडौ, १ भदौ- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बाढी, पहिरो र डुबानपीडितको नाममा वितरण गरिएको राहत सत्तारुढ दलका कार्यकर्ताहरुको कमाई खाने भाँडो बनेको आरोप लगाएको छ ।

एमालेका नेता रघुवीर महासेठले पीडितलाई राहत दिने काममा गम्भीर बन्न पनि सरकारलाई पुनःदबाब दिनुभयो । उहाँले सरकारले वितरण गरेको राहत वास्तविक पीडितको हातमा नभई सत्तारुढ दलका मुख्य-मुख्य कार्यकर्ताको घरमा पुग्ने गरेको आरोप पनि लगाउनुभयो ।

बाढी र डुबानपीडित तराईका जिल्लाहरुको स्थलगत अवलोकन गरी बिहीबार काठमाडौं फर्कनु भएका उहाँले संचारकर्मीसँग प्रमुख जिल्ला अधिकारमार्फत राहत वितरण गरिएको भनेर सरकारले पीडितलाई ढाँटिरहेको आरोप पनि लगाउनुभयो ।

उहाँले सत्तारुढ दलका मुख्य-मुख्य कार्यकर्ताले मात्रै सरकारले पठाएको राहत पाउने गरेको उल्लेख गर्दै वास्तविक पीडित भोकभोकै मर्ने अवस्था रहेको पनि स्मरण गराउनुभयो । नेता महासेठले जनतालाई राहत उपलब्ध गराउन आफनो पार्टी डुबान प्रभावित सबै जिल्लाका सक्रियताका साथ लागि परेको पनि बताउनुभयो।

एमाले नेता महासेठले बाढी र डुबानपीडित मृतकका परिवारलाई क्षतिपूर्तिबापत तत्काल ५ लाख रूपैयाँका दरले राहत उपलब्ध गराउन पनि सरकारसँग माग गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार