आज कृष्ण जन्माष्टमी पर्व मनाईदैं, भजन गाउँदैं रातभर जाग्राम बसेर नाचगान गरिने

आज(सोमबार) कृष्ण जन्माष्टमी पर्व । भगवान श्रीकृष्णको पूजा आराधना गरी देशभर यो पर्व मनाईंदै छ ।

भगवान श्रीकृष्णको जन्म भएको सम्झनामा हरेक वर्ष भाद्र कृष्ण अष्टमीका दिन यो पर्व मनाउने गरिन्छ ।

आजको दिन ज्ञान, भक्ति र कर्मयोगका प्रणेता कृष्णको पूजाआजा गर्ने चलन छ ।

द्वापरयुगको अन्त्यतिर भाद्र कृष्ण अष्टमीको मध्यरातमा कृष्णको जन्म भएको जनविश्वास छ ।

मामा कंश लगायतको अत्याचारबाट मानव जातिलाई मुक्ति दिन वासुदेव र देवकीको आठौं गर्भबाट विष्णुको आठौं अवतारका रुपमा श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ ।

धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार कृष्णले पापका पर्याय बनेका कंशको बध गरी हजुरबुबा उग्रसेन, मातापिता देवकी एवं वासुदेवलाई कारागारमुक्त गराएका थिए ।

बाल्यकालदेखि नै विचित्रलीला देखाएका कृष्णले गोपिनी र राधासँग गरेको प्रेम प्रसंगका कारण यो महिना प्रेमोत्सव अर्थात् झुलनोत्सवका रुपमा पनि मनाउने गरिन्छ ।

अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित बनाउने उद्देश्यले विष्णुले मानव अवतारका रुपमा श्रीकृष्ण भई धर्तीमा अवतरण गरेको मानिन्छ ।

कृष्णले आजीवन सत्यका पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई पे्ररित गरेका थिए ।

आजको दिन मानिसहरु व्रत बसी राति कृष्ण जन्मिएको सम्झनामा पूजाआजा गर्ने र रातभर जाग्राम बसेर नाचगान तथा कृष्णको भक्ति संगीत गाउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार