बाढी प्रभावितलाई सुविधा दिन निःशुल्क एसएमएस

काठमाडौं, साउन २९ – नेपाल टेलिकमले बाढी प्रभावितहरुलाई सुविधा दिन निःशुल्क एसएमएसको व्यवस्था गरेको छ ।

टेलिकमको नेटवर्कमा मात्रै यो सुविधा रहनेछ । सत्वार्षिकोत्सवको अवसरमा आइतबार टेलिकमले आयोजना गरेको कार्यक्रममा सूचना तथा संचार मन्त्री मोहनबहादुर बस्नेतले बाढी पहिरोबाट प्रभावितलाई राहत दिने उद्देश्यले निःशुल्क एसएमएस सेवा दिने व्यवस्था गरेको बताए ।

यो सुविधा आइतबारदेखि मंगलबारसम्म रहने टेलिकमले जनाएको छ । बाढी र पहिरो पीडितलाई ध्यानमा राखेर यो सुविधा दिएको भन्दै अन्य क्षेत्रका ग्राहकले दुरुपयोग नगरिदिन पनि टेलिकमले आग्रह गरेको छ ।

मन्त्री बस्नेतले टेलिकमले सेवामा सुधार आवश्यक रहेको बताए । टेलिकमको नीति तथा कार्यक्रम राम्रो रहे पनि कार्यान्वयन पक्ष फितलो हुने गरेको भन्दै उनले सुधार्न आग्रह गरे ।

कार्यक्रममा टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले चालु आर्थिक वर्ष २०७४÷७५ मा कम्पनीको सेवा विस्तार तथा गुणस्तर सुदृढिकरणका लागि करिब २२ अर्ब पूँजीगत लगानी गर्ने योजना रहेको बताइन् ।

सत्वार्षिकोत्सवको अवसरमा टेलिकमले तीन जना आर्थिक पत्रकारलाई सम्मान पनि गरेको छ । टेलिकमले गोरखापत्र दैनिकका विश्वास रेग्मी र नागरिक दैनिकका पत्रकारद्वय सन्तोष न्यौपाने र सन्तोष पोखरेललाई नगदसहित सम्मान गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार