मुलुकका विभिन्न ठाउँमा आएको बाढी पहिरोमा परि अहिलेसम्म ११ जनाको ज्यान गयो

काठमाडौं,  साउन २८ – सुनसरीस्थित इटहरीको ट्याङ्रा खोलामा आएको बढीले छ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय इटहरीले जनाएको छ । मृत्यु भएका सबैजनाको शव भेटिएको छ । बगाएकाहरुमध्ये ५ जनाको इटहरीमा र एक जनाको तरहरामा १ जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।

बाढीबाट अझै थुप्रै मानीसहरु हराइरहेको हुन सक्ने प्रहरीले जनाएको छ । घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र लगायतका टोलीले उद्धार गरिरहेको छ । बाढीबाट इटहरी वडा नम्बर ४, ५, ६, ७ लगायत अधिकांश वडा डुबेका छन् । पक्की घरहरु समेत ठूलो संख्यामा डुबेका छन् । रातभर अविरल परेको वर्षाका कारण इटहरीका नाला, पोखरीमा पानी भरिएर वस्ती पसेको हो ।

उता बुढी खोलाको बाढीले महेन्द्र राजमार्ग उत्तरको गैरीगाउँका ३० बढी घर बगाएको छ । रातिदेखिनै इटहरी क्षेत्रमा विद्युत् सेवा समेत अबरुद्ध छ भने सडक पुरै अवरुद्ध भएको छ । बाढीले इटहरी स्थित नेपाली सेनाको पूर्वी पृतना मुख्यालय पनि डुवानमा परेको छ । सेनाका् ब्यारेकभित्रै पानी पसेपछि सामान सुरक्षित स्थानमा सारिएको बताइएको छ । नेपाली सेनाको हेलिकोप्टर विहानैदेखी उद्धारका लागि जुटेको छ ।

सिन्धुलीमा पहिरोले पुरिएर ४ को मृत्यु,
सिन्धुलीको कमलामाइ नगरपालिका ६ सदरमुकाम गैरीगाँउमा आज बिहान पहिरो जाँदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ । पत्रकार महासंघको जमिनमा टहरो बनाएर बस्दै आएका चार जनाको पहिरोले पुरिएर मृत्यु भएको हो ।

मृत्यु हुनेमा २७ वर्षकी दुर्गाकुमारी खड्का, १५ वर्षकी शोभा खड्का, १० वर्षका अनिस खड्का र ८ वर्षका मनिष खड्का रहेका छन ।  बिहान करिब २ बजेको समयमा झरेको पहिरोले सुतिरहेको अवस्थामा ४ जनालाई पुरेको हो । उनीहरुसँगै सुतिरहेका उद्यबहादुर खड्का भने भागेर ज्यान जोगाउन सफल भएको जिल्ला प्रहरी कार्यलय सिन्धुलीले जनाएको छ ।

लगातार दुई दिनदेखि परिरेहको पानी सँगै जिल्ला प्रहरी कार्यालयले नयाँ भवन निर्माण गर्दा थुपारेको माटोले पहिरोको रुप लिँदा उक्त घट्ना भएको हो ।

मोटरसाइकल पहिरोले पुरिँदा १ को मृत्यु,
पाल्पामा पहिरो खसेर गुडिरहेको मोटरसाइकल पुरिदा एकजना मृत्यु भएको छ, भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक तानसेन नगरपालिका ३ का ३५ वर्षीय गृहपति शाक्य रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

पहिरोले पुरिएर घाइते भएका गृहपतिको भैरहवा मेडिकल कलेज रुपन्देहीमा उपचारको क्रममा मृत्यु भएको हो । पहिरोमा परी सोही ठाउँका ५० वर्षीय अजय श्रेष्ठ घाइते भएका छन् । घाइते श्रेष्ठको अहिले बुटवलमा उपचार भइरहेको छ । बुटवलबाट तानसेन आउदै गरेको लु १३ प ६६५ नम्बरको मोटरसाइकललाई तिनाउ गाउँपालिका ३ सिद्धबाबामा गएराति पहिरोले पुरेको हो ।

दाउन्नेको पहिरोले हजारौं यात्री अलपत्र
बुटवल–नारायणगढ सडक अन्तर्गत नवलपरासीको दाउन्नेमा गएको पहिरोका कारण गएरातीदेखि सवारी–साधन आवागमन ठप्प भएको छ ।

बर्दघाटदेखि दुम्कीवाससम्मका ७ बढी स्थानमा पहिरो जाँदा सयौं सवारी–साधन र हजारौं यात्री रातिदेखि अलपत्र परेका छन् । अवरूद्ध सडक खुलाउन सडक डिभिजन र निर्माण व्यवसासीहरूका डोजरहरूको प्रयोग गरेपनि सवारी सन्चालनमा ल्याउन नसकिएको प्रहरीले जनाएको छ ।

पानी परिरहेकाले पहिरो हटाउन समस्या भएको छ । पानी रोकिएर काम सुचारू भएमा आज दिउँसोसम्म अवरूद्ध सडक खुल्नसक्ने जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार