सिंहदरबारमा अब सोलारको बिजुली, विदाका दिन ग्रीडमा जोडिने

१८ साउन, काठमाडौं । चीन सरकारको सहयोगमा सरकारले सिहंदरबारमा एक मेगावाटको सोलार सिस्टम जडानको काम सुरु गरेको छ ।

सुरुवातमा ५ मेगावाट सोलार बिजुली उत्पादन गर्ने लक्ष्यका साथ तयारी थालिएपनि प्राविधिक रुपमा सम्भव नभएपछि अहिले एक मेगावाट मात्र बिजुली निकाल्न लागिएको हो ।

चिनियाँ सरकारी कम्पनीले गरेको अध्ययनले सिहंदरबारमा एक मेगावाट मात्र सोलार उत्पादन गर्न सकिने निश्कर्ष निकालेको थियो । सिंहदरबारमा सोलार बिजुली जोड्न चीन सरकारले आर्थिक तथा प्राविधिक सहयोग गरेको छ ।

सोलार जडानका लागि अहिले सोलार प्यानसहितका सामग्री ल्याइसकिएको छ । अब सोलर सिस्टमको जडानको काम अघि बढ्ने र ४ महिनाभित्र सिंहदबारमा सोलारबाट बिजुली बालिसक्ने उर्जा मन्त्रालयका प्रवक्ता दिनेश घिमिरे अनलाइनखबरलाई जानकारी दिए ।

‘अब सिंहदरबारमा लाइन जाँदा सोलार बल्छ । अरु बेलामा पनि उपलब्ध भएसम्म सोलार कै बिजुली बल्छ’ प्रवक्ता घिमिरेले भने, ‘यो पाइलट प्रोजक्ट हो । सफल भए सरकारी कार्यालयमा सोलार सिस्टम जडानका लागि प्रोत्साहन हुन्छ ।’

अधिकांश भवन अयोग्य

सिंहदरबार भित्रका २१ वटा भवनमा मात्र सोलारका प्यानल राखिने भएको छ । प्यानलबाट जम्मा हुने बिजुलीलाई एकीकृत गरी सिहंदरबारभित्र नै प्रयोग गर्ने सरकारको योजना छ ।

धेरै भवनको माथिल्लो भागमा जस्तापाता प्रयोग भएकाले सोलार प्यानल राख्न सकिने छैन । यस्तै भूकम्पले क्षति पुगेका भवनहरुमा पनि प्यानल राखिने छैन । पुनर्निर्माण र मर्मत गर्नुगर्ने तथा तला थप्ने भवनमा पनि सोलार प्यानल नराखिने भएको छ । सिहंदरबारकै मूल भवन पनि सोलार प्यानल राख्न अयोग्य छ ।

ग्रिडमा जोडिने

सिहंदरबारमा उत्पादन हुने एक मेगावाट बिजुली त्यहाँका लागि अपुग हुने छ । तर, विदाका दिन सिंहदरबारको बिजुली ग्रीडमा जोड्ने व्यवस्था गर्ने सरकारी तयारी छ ।

सिंहदरबार भित्र रहेको प्राधिकरण्को सब–स्टेनशनमा विदाका दिन सोलार विजुली जोड्ने गरी योजना बनाइएको छ ।

झण्डै ५ वर्ष अघि अर्थात ०६७ सालमा सिंहदरबारभित्रै सोलार प्यानल राखेर ५ मेगावाट सौर्य विद्युत उत्पादन गर्ने निर्णय भएको थियो । तर, अध्ययन प्रक्रियामा भएको ढिलाइले पहिलेको योजनाअनुसार भने काम भएन । ०७० को माघदेखि चिनियाँ टोलीले सिहंदरबारमा अध्ययन थालेको थियो । सिंहदरबारभित्र अहिले झण्डै १ मेगावाट भन्दा बढी बिजुली खपत हुँदै आएको छ ।

सरकारले बनाएको लोडसेडिङ न्यूनीकरण कार्ययोजनामा सिंहदरबारसहित अस्पताल, राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, हनुमानढोका क्षेत्र, पशुपति विकास क्षेत्रमा सौर्य ऊर्जा प्रणालीबाट विद्युत् आपूर्ति गर्ने उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार