सुन्न नसक्ने ७ हजारले लिँदैछन् टेलिकमको भिडियो कल सेवा

१७ साउन, काठमाडौं । नेपाल टेलिकमले बोल्न र सुन्न नसक्ने व्यक्तिहरुका लागि सहुलियत दरमा उपलब्ध गराएको भिडियो कल सेवा लिनेको संख्या ७ हजार ८४ पुगेको छ । कम्पनीले अघिल्लो वर्षको असार ३१ देखि सहुलियत दरमा यो सेवा उपलब्ध गराएको थियो ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बोल्न र सुन्न नसक्ने व्यक्तिहरुका लागि सहुलियत दरमा भिडियो कल तथा एसएमएस सेवा सुरु गरेको थियो ।

टेलिकमको मोबाइल नम्बर (सिम) मा टेलिकमको नेटवर्क भित्रको लागि मात्र उपलब्ध गराइएको यो सेवाको महसुल प्रतिमिनेट ५० पैसा (करबाहेक) तोकिएको थियो ।

साथै बोल्न र सुन्न नसक्ने व्यक्तिहरुका लागि २०७० माघ देखि एसएमएसको शुल्क प्रति एसएमएस २० पैसा -करबाहेक) का दरले तोकिएको छ ।

यो सेवा लिनका लागि शारीरिक अपाङ्गता भएका व्यक्तिहरुले महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय, समाज कल्याण परिषदबाट जारी भएको परिचय पत्र (रातो कार्ड) सहित एकप्रति फोटो र आफ्नो नागरिकताको प्रतिलिपि पेश गर्नुपर्ने ब्यवस्था छ । यी सबै सेवाका लागि आफूलाई पायक पर्ने नेपाल टेलिकमको काउन्टरमा सम्पर्क राख्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार